काठमाडौं, माघ १ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै षड्यन्त्र र तानाबाना बुनेको आरोप लगाएका छन्।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेस पार्टी विभाजन हुनबाट जोगाउन नसकिएको स्वीकार गर्दै बिहीबार जारी वक्तव्यमा कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास असफल भएको बताएका हुन्।

‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन,’ उनले भनेका छन्, ‘यसमा को दोषी र को निर्दोष भन्ने बहस गरेर राष्ट्रिय राजनीतिलाई अझ धुमिल बनाउन म चाहन्नँ। हामी सबै कहीँ न कहीँ चुकेका छौँ भन्ने स्वीकार गर्न मलाई संकोच छैन।’

यसबीच देखिएका र नदेखिएका अनेक अन्तरविरोधबाट पार्टी गुज्रिनुपरेको उल्लेख गर्दै कोइरालाले राजधानी केन्द्रित विभिन्न षड्यन्त्रहरू र स्वार्थ समूहहरूको सक्रियताले कांग्रेस कमजोर बनेको बताएका छन्। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै अनेक तानाबाना बुन्ने काम भयो र कांग्रेसलाई कमजोर पार्न चाहनेहरूको स्वार्थलाई हामीले रोक्न सकेनौँ,’ उनको भनाइ छ।

पार्टी एक भएर निर्वाचनमा जानुपर्छ भन्नेमा सबैको इमानदार प्रयास रहे पनि त्यो सफल हुन नसकेको उनले बताएका छन्। वर्तमान अवस्थालाई स्मरण गर्दै उनले बीपी कोइरालाको संघर्ष र त्यागलाई सम्झिएका छन्।

अहिलेको अवस्थामा पनि कांग्रेस एकढिक्का हुन नसक्नुमा नियतिको भूमिका रहेको संकेत गर्दै उनले पार्टीसँग आठ दशक लामो इतिहास जोगाउने र निर्वाचनको चुनौती सामना गर्ने जिम्मेवारी अझै बाँकी रहेको बताएका छन्।