काठमाडाैं, माघ १ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफर प्रवृत्तिहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली युवाहरू बाटो बिराउन खोजिरहेको भन्दै उनीहरुलाई इतिहास, देश र वर्तमान राजनीतिक अवस्थाबारे गहिरो बुझाइ आवश्यक रहेको बताए।

उनले अहिले विभिन्न प्रकारका ठग र लुसिफर प्रवृत्तिहरू युवालाई प्रभावित पार्न सक्रिय रहेको उल्लेख गर्दै भने, ‘अहिले सबै प्रकारका ठगहरू, लुसिफरहरूले धेरै धाक नलगाए हुन्छ। तिनका सपना पूरा हुने छैनन्।’

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् । बालेन ओलीविरुद्ध झापा क्षेत्र नं ५ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

यसैबी अध्यक्ष ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको भन्दै गुनासो गरेका छन् ।   ओलीले केही मानिसहरुबाट एमाले नेतालाई अहिले  नै मुद्दा लगाउँछु, भरे लगाउँछु भनेर धम्की आइरहेको साथै खोजीखोजी घरमा आगो लगाइरहेको समेत आरोप लगाएका छन् । उनले आफूमाथी निरन्तर आक्रमणको प्रयास भएको जिकिर गरेका छन् ।

उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेहरु गर्वका साथ हिँडिरहेको बताएका छन् । अध्यक्ष ओलीले बिना त्याग संसार बदल्न नसकिने र आफूमा हिजोजस्तै आज पनि त्यागको भावना रहेको बताए ।  

उनले भने, ‘हिजो पनि थियो, आज पनि त्यागको भावना छ । बिना त्याग संसार परिवर्तन हुँदैन । मेहनत, बलिदान, निष्ठा चाहिन्छ । आदर्श र उद्देश्यहरूप्रति हिजो पनि निष्ठा थियो, आज पनि छ ।’