काठमाडौं, माघ १ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको दाबी गरेका छन्। 

बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित जेलभित्रका संघर्ष पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक वर्षअघि नै महाधिवेशन गरेर पार्टीभित्रको भ्रम र हल्लालाई चिरेको बताए।

ओलीले भने, ‘कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजिएको थियो ।’ उनले पार्टीभित्र जिम्मेवारी र अनुशासन आवश्यक हुने उल्लेख गरे । अध्यक्ष ओलीले एक वर्षअघि नै महाधिवेशन गरेर पार्टीको निर्णय कार्यकर्ता र जनतामाझ सुम्पिएको दाबी पनि गरे।उनले पार्टी सफल हुँदै जाँदा षड्यन्त्र गरेर अप्ठ्यारोमा पार्ने प्रयास हुने गरेको आरोप पनि लगाए।

यसैबीच अध्यक्ष ओलीले महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । उनले अहिले थिति र विधिको शासन देशमा नभएको बताए ।महान्यायाधिवक्ता कार्यालयले हिजो लामिछानेविरुद्धका दुई गम्भीर मुद्दाहरू फिर्ता लिने निर्णय गरेको थियो ।

‘अहिले थिति र विधिको शासन होइन । जसको लट्ठी त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ, ’ ओलीले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ ।’उनले अब दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?भनी प्रश्न समेत गरे ।