
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहबीच चारबुँदे सहमति भएको छ।
राजनीतिक निकासका लागि सहकार्य गर्ने प्रतिबद्धतासहित दुवै पक्षले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। नेकपा (माओवादी) का तर्फबाट महासचिव चन्द र जेन–जी समूहका संयोजक ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरे। युवा पुस्ताको प्रतिनिधित्व गर्ने जेन–जी विद्रोहले अघि सारेका मागहरू पूरा गराउन पहल गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।
सहमति अनुसार मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि सर्वपक्षीय सहमति जुटाउने र अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने उल्लेख गरिएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि विशेष शक्तिशाली न्यायिक निकाय गठन गर्नुपर्ने विषयमा पनि दुवै पक्ष एकमत भएका छन्। यस्तै, जनचाहनाअनुसार संविधान संशोधन, राज्यको अग्रगामी पुनर्संरचना र स्थिर सरकार गठनका लागि दबाब पनि सहमति भएको छ। दुवै पक्षले सहमतिमार्फत संयुक्त संघर्षलाई अगाडि बढाउँदै समसामयिक राजनीतिक मुद्दामा सहकार्य विस्तार गर्ने बताएका छन्।
