सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

कागेश्वरी मनोहरा नगरपालिकाबाट मालपोत सेवा सुरु

कागेश्वरी मनोहरा नगरपालिका जग्गा प्रशासन सम्बन्धी मालपोत कार्यालयका सेवा सुविधाप्रदान गर्ने देशकै पहिलो स्थानीय तह बन्न सफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा नगरपालिकाबाट मालपोत सेवा सुरु
काठमाडौं, माघ २ :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताएका छन् ।

आज कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयका सेवा–सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उनले भ्रष्टाचार, विचौलिया र दलालीलाई निस्तेज नगरी सुशासन सम्भव नहुने स्पष्ट पारे ।

मन्त्री प्रा डा इङ्नामले मालपोत कार्यालयलगायत सार्वजनिक निकायमा व्याप्त भ्रष्टाचार, विचौलिया र दलाली प्रवृत्तिको सबै तहबाट कडा विरोध गर्नुपर्ने आवश्यकता औँल्याए । सुशासनको स्थापनाका लागि अब नेतृत्व तहदेखि कर्मचारी र आमनागरिकसम्म सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री प्रा डा इङ्नामले कुशासनको अन्त्य गर्दै पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली विकास गर्नु आजको अपरिहार्यता भएको बताए । ‘हामी सबै कुशासनविरोधी कुरा गर्छौं । अब सुशासनको सुरुआत हामीबाट नै हुनुपर्छ । भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सक्नुपर्छ । विचौलिया र दलालीको सामूहिक रूपमा विरोध गर्न सक्नुपर्छ’, उनले भने।

मन्त्री प्रा डा इङ्नामले हाल आमनागरिक कुशासनका कारण विभिन्न समस्यामा परिरहेको उल्लेख गर्दै कुशासनको मूल जड नै भ्रष्टाचार भएको धारणा राखे । भ्रष्टाचार नियन्त्रण नगरेसम्म जनताले राज्यप्रति विश्वास गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि कडा कदम चाल्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘भूमि सुधार मन्त्रालयलाई घुस्याहाको मन्त्रालय भनेर आमनागरिकबीच भाष्य बनेको छ’, मन्त्री इङ्नामले भने“यसरी मन्त्रालय र राज्य संयन्त्रलाई नै बदनाम गराउने व्यक्तिहरूलाई चिनेर सामूहिक रूपमा बहिष्कार गर्न जरुरी छ ।’

उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर भूमि प्रशासनलाई स्वच्छ, पारदर्शी र जनमैत्री बनाउने लक्ष्य लिइएको जानकारी दिए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाबाट सुरु गरिएको जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा निकट भविष्यमै देशका अन्य १०वटा स्थानीय तह काठमाडौँ, झापा, पोखरा, मोरङ र पश्चिम क्षेत्रबाट पनि लागू गर्ने तयारी भइरहेको जानकारी दिइएको थियो । यसले सेवाग्राहीलाई सहजता हुनुका साथै समय र खर्चको बचत तथा विचौलियाको भूमिकामा कमी आउने मन्त्री इङ्नामको विश्वास छ ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्कीले लामो समयपछि आफ्नो नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा सुरु हुन लागेकामा खुसी व्यक्त गरे । उनले यस सेवाले अब स्थानीय नागरिकहरूलाई मालपोत कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने र सेवा सहज, छरितो तथा पारदर्शी हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

आजबाट यो सेवा प्रदान गरेसंगै कागेश्वरी मनोहरा नगरपालिका जग्गा प्रशासन सम्बन्धी मालपोत कार्यालयका सेवा सुविधाप्रदान गर्ने देशकै पहिलो स्थानीय तह बन्न सफल भएको छ ।  

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार