
राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि आज बसेको बैठकमा सदस्य बलदेव बोहराको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको छ।
विसं २००८ मा जन्मनुभएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उनी विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचत भएका थिए।आजको बैठक साढे ७ मिनेट बसेर सकिएको छ ।
आज दुई वटा कार्यसूची पेस भए । पहिलो अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाइएको थियो भने दोस्रो राष्ट्रिय सभा सदस्य बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिएको थियो ।
बहालवाला सांसद्को निधनमा शोक प्रस्ताव पारित गरेपछि बाँकी कार्यसूचीमा अगाडि नबढ्ने अभ्यास छ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते बस्ने गरी सकिएको सभाध्यक्ष नारायण दाहालले जानकारी गराए ।
हाल राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट (नेकपा) को २५, नेपाली कांग्रेस १६, नेपाल कम्युनिष्ट (एमाले) नौ, जनता समाजवादी पार्टी (जसपा) तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, राष्ट्रिय जनमोर्चाको एक र मनोनीत तीन सदस्य छन् ।