
सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद थपिने तयारी गरेको छ। आयोगले प्रतिवेदन लेखनको काम नसकिएको जनाएपछि सरकारले म्याद थप्ने तयारी गरेको हो ।
८० प्रतिशत काम सकिएको जनाउँदै आयोगले २० दिन म्याद थप्न आग्रह गरेको छ। दोस्रो पटक थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ ।आयोगलाई सुरुमा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । तर उक्त समयमा आयोगले काम नसकेपछि एक महिना म्याद थप गरिएको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने, ‘म्याद थप्ने/नथप्ने सरकारको निर्णयमा भर पर्छ ।’
अध्यक्ष कार्कीले यसबारे केही दिन अघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर काम नसकिएकाले आयोगले गरेका काम र बाँकी कामबारे जानकारी गराएका थिए ।यस घटनाको विषयमा आयोगले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा प्रमुखहरु, मुख्यसचिव, सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा त्यसबेला सुरक्षामा खटिएका कमान्डर र जेनजी अभियन्ताहरुसँग समेत बयान लिइसकेको छ ।