
भक्तपुरको मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडपका क्रममा सुधारगृहभित्र आगजनी र तोडफोड समेत भएको छ ।
झडपका क्रममा १३ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रबक्ता डिएसपी प्रकाश जगेबुले जानकारी दिए । झडपको खवर प्राप्त हुनेबितिकै बाल सुधारगृहमा पुगेका प्रहरीमाथि नै दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको उनले बताए ।
प्रवक्ता जगेबुले घाइतेलाई उपचारका लागि लैजाने प्रयास गर्दा प्रहरीबाट थुतेर घाइतेहरुलाई उल्टै बन्धक बनाएको र प्रहरीको मोबाइल र सेट समेत खोस्ने काम भएको जानकारी दिए । बाल सुधारगृहमा १६४ जना रहेकोमा १८ बर्षभन्दामाथिका ८७ जना रहेको उनले बताए । १८ वर्ष भन्दा बढि उमेर समूहका व्यक्तिलाई समेत बाल सुधारगृहमा राख्दा हिंसात्मक घटना दोहरिएको हुन सक्ने प्रवक्ता जगेबुले बताए ।
बाल सुधारगृहमा आगजनी र तोडफोड भएपछि त्यहा रहेकाहरुलाई सशस्त्र प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । सुधारगृहमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको थिमि प्रहरीले जनाएको छ ।