काठमाडौं, माघ ९ :

कागेश्वरी मनोहरा नगरपालिकाले आज वडा नम्बर ८ का विभिन्न खाद्य सामग्री बिक्री केन्द्रहरूमा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा एक दर्जनभन्दा बढी पसल तथा होटलहरू निरीक्षण गर्दा सबैभन्दा बढी लापरबाही मासु पसलहरूमा फेला परेको छ।

मासु पसलहरूले म्याद गुज्रिएको तथा खान अयोग्य मासु भण्डारण तथा बिक्री गरेको पाइएको नगरपालिकाले जनाएको छ। दोषी भेटिएका पसलहरूलाई ३ देखि ७ दिनको अल्टिमेटम दिँदै गुणस्तर र स्वास्थ्य मापदण्ड सुधार गर्न चेतावनी दिइएको छ। तोकिएको समयसीमाभित्र सुधार नगरे कडा कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।

यसअघि बुधबार र बिहीबार वडा नम्बर ९ मा गरिएको अनुगमनमा पनि अधिकांश मासु पसलहरूमा चरम लापरबाही देखिएको थियो। उपभोक्ताको स्वास्थ्यमा असर पर्ने किसिमले मिसावट तथा अस्वस्थकर सामग्री बिक्री भइरहेको भन्दै उजुरी आएपछि नगरपालिकाले छड्के अनुगमन सुरु गरेको हो।

नगरपालिकाले विशेष गरी मासुजन्य पदार्थमा देखिएको लापरबाहीलाई गम्भीर रूपमा लिँदै अखाद्य सामग्रीको बेचबिखनमा कडाइ गर्ने नीति लिएको जनाएको छ। अबदेखि नियमित छड्के अनुगमन, सचेतना अभियान तथा लापरबाही गर्ने व्यापारीमाथि आवश्यक कारबाही अघि बढाइने नगरपालिकाले जनाएको छ।