
राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशमा मध्याह्नसम्म ८० प्रतिशत बढी मतदान भएको छ। वागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका दुई पदका लागि ६ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। कांग्रेस–एमालेबीच तालमेलमा उम्मेदवारी दिइएको छ।
हेटौंडाको भुटनदेवी माविमा दुई केन्द्रमा मतदान भइरहेको छ । मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ। मध्याह्नसम्म प्रदेशसभा सदस्य १०४ जनामध्ये ७५ जनाले मतदान गरिसकेका छन् भने पालिकाका २३४ मतदातामध्ये २०३ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्।
कांग्रेसबाट महिला तर्फ उम्मेदवारी दिएकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झा, र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार रहेका छन्। यसैगरी अन्य समूहबाट एमालेको तर्फबाट प्रेमप्रसाद दंगाल, नेकपाकोतर्फबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाकोतर्फबाट विक्रम डुकुछु उम्मेदवार छन्।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ। रिक्त हुने पदमध्ये एक जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । आज १७ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको हो। कोशी प्रदेशबाट एक जना निर्विरोध भइसकेका छन्।