काठमाडौं, माघ १३ :

कागेश्वरी मनोहरा नगरपालिकाले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै  वडा नम्बर ७ मा छड्के अनुगमन गरेको छ। मंगलबार केही मासु पसल तथा चारवटा पानी उद्योगको अनुगमन गरिएको छ।

नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीद्वारा गरिएको अनुगमनमा अधिकांश खाद्य सामग्री उत्पादन तथा बिक्री केन्द्रको अवस्था सन्तोषजनक भेटिएको जनाइएको छ। मासु पसलहरूमा भने खाद्य मापदण्ड सामान्य रहेको अनुगमन टोलीको निष्कर्ष छ।

तर, पानी उद्योगतर्फ भने प्रशोधित खानेपानी निर्देशिका उल्लंघन भएको पाइएको छ। निरीक्षणका क्रममा पुराना तथा प्रयोगका लागि अयोग्य जार प्रयोग गरिएको, सरसफाइमा लापरवाही गरिएको जस्ता समस्या भेटिएपछि अनुगमन टोलीले तत्काल अयोग्य जारहरू डिस्पोज गराएको छ। साथै उद्योग सञ्चालकहरूलाई आवश्यक सुधार नगरेमा कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

वडा नम्बर ७ का वडा अध्यक्ष भक्त थापाले खाद्य सामग्रीको बिक्री तथा उपभोगमा नागरिक स्वयं सजग र जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने बताए।