काठमाडौं, माघ १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुई दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् ।रास्वपाको जनकपुरमा भएको चुनावी सभामा सहभागी भएको समयमा देब्रे खुट्टामा चोट लागेपछि उनी अस्पताल भर्ना भएका हुन्।

खुट्टामा लागेको चोट औषधि सेवन गर्दा पनि निको नभएपछि रवि मंगलबारदेखि अस्पताल भर्ना भएका हुन् ।  गत माघ ५ गते भएको सभाको क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो । 

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ। उनलाई सेलुलाइटिस भएको हुँदा नशाबाट आइभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ। अवस्था हेरेर केही दिनमै डिस्चार्ज गरिने अस्पताल प्रशासनले जनाएको छ ।

जनकपुरको सभापछि सभापति लामिछाने सञ्चार माध्यममा त्यति छाएका छैनन् । तर, उनको पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भने पूर्वको भ्रमण सकेर पश्चिमतिर लागेका छन् ।