
राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जनताको विश्वास जित्न नसकेको बताएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा उनीहरुले युवाहरुको भावना अनुसार सरकार चल्न नसकेको र जनताको विश्वास समेत जित्न नसकेको बताएका हुन् । साथै उनीहरुले नागरिक सरकारमा गएका मन्त्रीहरुले निर्वाचन अगावै राजीनामा दिएर सुशासनको एजेण्डलाई लत्याएको आरोप समेत लगाएका छन् ।
विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले अहिलेको सरकारलाई नागरिक सरकार भनिएपनि सरकारमा सहभागी मन्त्रीहरुले अपेक्षा अनुसार काम गर्न नसकेको बताए । उनले अर्कालाई नैतिक प्रश्न सोध्नेहरु जिम्मेवारीबाट भागेर जनताको विश्वासलाई तोड्ने काम भएको उल्लेख गरे।
त्यस्तै राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भन्ने सरकारका मन्त्रीहरुले बिचैमा सरकार छाडेर निर्वाचनको दायित्वबाट भागेको आरोप लगाइन् । यस्ता मान्छेहरु निर्वाचित भएर आए सुशासनको अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।
त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले संविधानलाई जोगाउनका लागि निर्वाचन गराउन सरकार प्रतिबद्ध देखिएको भन्दै धन्यवाद दिए । उनले जेनजी आन्दोलनको अपेक्षा अनुसार वर्तमान सरकार समेत अघि बढ्न नसकेको उल्लेख गरे ।