काठमाडौै, माघ १५ :

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विचाराधीन मुद्दाको विषयलाई लिएर नेताहरुसँग  भेटघाट गर्न अस्वीकार गरेका छन् ।  संसद् पुन:स्थापना मुद्दाको पेशी व्यवस्थापनबारे छलफल गर्न भन्दै कांग्रेसका पूर्वसांसदहरुले आज प्रधानन्यायाधीश राउतलाई भेट्ने प्रयास गरेका थिए ।

मुद्दाको एउटा पक्षले सार्वजनिक घोषणा गरेरै प्रधानन्यायाधीशलाई कार्यकक्षमै पुगेर भेट्ने बताएपछि प्रधानन्यायाधीशको निजी सचिवालयले भेटघाट तय नभएको स्पष्ट पारेको छ ।

विघटित प्रतिनिधिसभाको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे लगायतले मुद्दाको पालो नआएको भन्दै  सार्वजनिक घोषणा गरेरै आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई भेट्न जाने बताएका थिए । 

घिमिरे लगायत ८ जनाले मंसिर २८ मा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । मुद्दाको पक्षले इजलासकै नेतृत्व गर्ने प्रधानन्यायाधीशलाई भेट्ने विषय न्यायाधीशहरुको आचारसंहितासँग समेत जोडिने भनेर प्रश्न उठाइएको थियो ।

निवेदक मध्येका घिमिरेले नै आज सञ्चारमाध्यमहरुमा ‘प्रधानन्यायाधीशज्यूलाई भेट्ने योजना स्थगित भएको’ भनेर सूचना सम्प्रेषण गरेका थिए । प्रतिनिधिसभा विघटनको विषयमा पटकपटक गरी सर्वोच्च अदालतमा १७ वटा रिट निवेदन परेका छन् ।