
भारतले नेपाल सरकारलाई २ सय २० वटा सवारीसाधान सहयोग स्वरुप प्रदान गरेको छ । निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोश्रो लटमा उक्त सवारीसाधनहरु हस्तान्तरण गरेको हो ।
बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरुको साँचो हस्तान्तरण गरेका हुन् । अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधान सहयोग गरेको जानकारी दिए । भारतले उपलव्ध गराउने करिब ६५० वटा बिभिन्न किसिमका सवारी साधानमध्ये बिहीबार दोश्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।
यसपछि बाँकी रहेका सवारी साधानका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरु समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केही दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधान नेपाललाई हस्तान्तरण गरेको थियो ।