काठमाडौं, माघ १८ :

काठमाडौ क्षेत्र नम्बर १, प्रतिनिधिसभा सदस्य निर्वाचन विगतमा जस्तै रोचक देखिन्छ । २५ हजार २ सय ५२ महिला र २३ हजार २ सय ३७ पुरुष गरी जम्मा ४८ हजार ८ सय ४९ जना मतदाता रहेको यस क्षेत्रमा २२ वटा मतादान स्थल छन् भने ५७ वटा मदतान केन्द्रहरु रहेका छन् ।
आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३० जनाले उमेदवारी मनोनयन दर्ता गरे पनि आयोगले उमेदवारको अन्तिम नामावलीमा २९ जनाको नाम जारी गरेको छ ।

जसमा नेकपा एमालेको सूर्य चिह्नबाट मोहनराज रेग्मी, नेपाली काँग्रेसको रुख चिह्नबाट प्रबल थापा क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीको पाँचकुने तारा चिह्नबाट मेनुका भण्डारी, रास्वपाको घण्टी चिह्नबाट रञ्जु न्यौपाने र राप्रपाको हलो चिह्नबाट रवीन्द्र मिश्र प्रमुख प्रतिस्पर्धीको रुपमा देखिन्छन् । जसपा नेपालले ढल्केको छाता चुनाव चिह्नसहित प्रकाश नायजुलाई अघि बढाउँदा नेपाल मजदुर किसान पार्टीको मादल चिह्नबाट रमिला ज्याख्व(सुवाल) र प्रगतिशिल लोकतान्त्रिक पार्टीको खुलेको आँखा चिह्नबाट सनिन सिग्देल प्रतिस्पर्धामा छन् भने श्रम संस्कृति पार्टीको अञ्जुलीमा रहेको माटो चुनाव चिह्नबाट समीर लामस तामाङको उमेदवारी रहेको छ ।

यसैगरी मितेरी पार्टी नेपालको घोडा चिह्नबाट राजकुमार लिम्बु,नेकपा( माओवादी) को गोलो घेरा भित्र रहेको गुलाफको फूल चिह्नबाट धनराह शाही, उज्यालो पार्टी नेपालको  बलिरहेको बिजुलीको चिम चिह्नबाट मङ्ग लाल श्रेष्ठ, राष्ट्रिय मुक्ती पार्टी नेपाल( एकल चुनाव चिह्न) को चकिया(जाँतो) चिह्नबाट इन्द्रप्रसाद श्रेष्ठ, नेपाल जनसेवा पार्टीको सेतो र कालो रङको जुत्ता चिह्नबाट अर्जुन बहादुर शाही, समावेशी समाजवादी पार्टीको श्रीवत्स समृद्धिको प्रतीक चिह्नबाट सुरेन्द्र पाण्डे तथा जनादेश पार्टी नेपाल(एकल चुनाव चिह्न) को मोबाइल चिह्नबाट कमल सुवेदीको उमेदवारी रहेको छ ।

आयोगको जानकारी अनुसार यहाँ १३ जनाले स्वतन्त्र उमेदवारी रहेको छ । जसमा क्याप चिह्नबाट कमल कोइराला, टायर चिह्नका साथमा राजु भुजेल, केबलकार चिह्नबाट शम्भु पोखरेल, आरी चिह्नबाट सुरेन्द्र प्रसाद ढकाल, ट्रफी चिह्नबाट सागर जोशी, त्रीभुज चिह्नबाट असिम मान सिंह वस्रया, व्याडमिन्टन कर्क चिह्न लिएर किरण शाह, सारङ्गी चिह्नका साथमा कुमार शाही, क्यायाकुलेटर चिह्नबाट राजकुमार बजगाईं, क्यामरा चिह्न बोकेर शान्ती श्रेष्ठ, प्रेसर कुकर चिह्नबाट कुशल खत्री, खसीको टाउको चिह्न लिएर सङ्गीत बम्म र कैँची चिह्नका साथ रमेश प्रसाद जोशीको उमेदवारी रहेको छ ।

यसो त काठमाडौँ क्षेत्र नम्बर- १ नेपाली काँग्रेसले लगातार जित्दै आएको क्षेत्र हो । यस अघि २०७९ को निर्वाचनमा ३२ जना उमेदवारहरु मध्ये ७ हजार १ सय ४३ मतसहित नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राप्रपाका रविन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए  भने तेश्रो  नेकपा एमलेका किरण पौडेलले ३ हजार ५ सय ३२  मत प्राप्त गरि तेस्रो स्थानमा सीमित हुन पुगेका थिए ।

उक्त निर्वाचनमा जम्मा मतदाता सङ्ख्या ४५ हजार १८ जनामध्ये २६ हजार ९ सय ७८ जनाले मताधिकार प्रयोग गर्दा ८ सय १२ मत बदर भई २६ हजार १ सय ६६ जनाको मत गणनाको योग्य थियो ।

यसपालि ३ हजार ८ सय ३१ जना नयाँ मतदाता थपिएका छन् । यो सङ्ख्या चुनावको नतिजालाई राम्रैसँग प्रभाव पार्न योग्य सङ्ख्या हो  ।  जेनजी आन्दोलन पछिको राजनीतिक परिवर्तनले गर्दा यसपालिको निर्वाचन निकै रोचक र चाख लाग्दो बन्ने देखिन्छ ।