काठमाडौं, माघ १८ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका खाद्य वस्तु बिक्री केन्द्रहरूको अनुगमनलाई आज पनि निरन्तरता दिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले वडा नम्बर ६ अन्तर्गतका केही किराना तथा मासु पसलहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा अधिकांश पसलहरूको अवस्था सामान्य र मापदण्डअनुसार रहेको पाइएको नगरपालिकाले जनाएको छ। तर दुईवटा मासु पसलमा भने बिक्रीका लागि राखिएको मासु सडेगलेको अवस्थामा भेटिएको थियो। यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले ती पसलहरूबाट ५० केजी र २० केजी गरी जम्मा ७० केजी सडेगलेको मासु बरामद गरेको थियो।

बरामद गरिएको सडेगलेको मासुलाई अनुगमन टोलीको उपस्थितिमा तत्काल नष्ट गरिएको  छ। साथै सम्बन्धित पसल सञ्चालकहरूलाई खाद्य स्वच्छता तथा गुणस्तरमा गम्भीर लापरबाही गरेको भन्दै कडा चेतावनी दिइएको छ। अबका दिनमा यस्ता गतिविधि पुनः दोहोरिएमा कानुनी कारबाहीको दायरामा ल्याइनेसमेत जानकारी गराइएको छ।

नगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खाद्य वस्तुको गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। आगामी दिनहरूमा पनि नगरभित्रका विभिन्न वडाहरूमा यस्तै अनुगमनलाई निरन्तर र प्रभावकारी रूपमा अघि बढाइने नगरपालिकाको भनाइ छ।