काठमाडौं, माघ २१ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छन् ।

बुधवार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले मानसिक रोगका विरामीहरुलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रश्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पारिन् । त्यस अवसरमा उनले निर्वाचन आचारसंहिताका  कारण आफूले धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बताइन् ।

मन्त्री गौतमले नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएकाले यसको उपचारका लागि उचित व्यवस्था गर्न अब आउने सरकारले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताइन् ।