
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ अन्तर्गत रहेका खाद्य सामग्री बिक्री केन्द्रहरूको अवस्था सामान्य भेटिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको खाद्य विभाग शाखाले आज थली बजार क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँगको सहकार्यमा अनुगमन गरिएको अनुगमनका क्रममा डेढ दर्जनभन्दा बढी पसल तथा होटलहरूको निरीक्षण गरिएको थियो। निरीक्षण गर्दा केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री तथा सरसफाइको अवस्था कमजोर भेटिए पनि अधिकांश पसलमा गुणस्तरीय तथा उपभोगयोग्य सामग्री बिक्री भइरहेको पाइएको छ।
पालिकाका अनुसार केही पसल तथा होटलहरू दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको अवस्थामा भेटिएका छन्। ती व्यवसायीहरूलाई सात दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिइएको जनाइएको छ।
यसैबीच, ‘पवित्र दूध भण्डार’ नामक पसलले डेरीको रूपमा दर्ता भए पनि चिया, किराना सामग्री तथा सूर्तीजन्य पदार्थसमेत बिक्री गरिरहेको पाइएको छ। उक्त पसलका सञ्चालकलाई तत्काल त्रुटि सच्याउन चेतावनी दिइएको र आगामी दिनमा पुनः यस्ता गतिविधि दोहोरिएमा कडाभन्दा कडा कारबाही गरिने नगरपालिकाले जनाएको छ।
खाद्य व्यवसायीहरूको लापरबाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उल्लेख गर्दै वडा अध्यक्ष शंकर पाण्डेले सबै व्यवसायीलाई स्वच्छता कायम गर्दै तोकिएका मापदण्डभित्र रहेर व्यापार सञ्चालन गर्न आग्रह गरेका छन्।