काठमाण्डौँ , असोज १५ :

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएका छन् ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ होटल- रेस्टुरेन्ट, २४ खाद्य उद्योग र दुई वटा डायट्री सप्लिमेन्ट बिक्रेता फर्ममा निरीक्षण अनुगमन गरिएको उहाँले बताउनुभयो । 

यस्तै, ललितपुरमा २३ खाद्य कम्पनीमा अनुगमन गरिएको छ । धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्ड र अभिलेख नपाइएको हुँदा खाद्य ऐनबमोजिम नमूना सङ्कलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ गर्ने स्थान सिलबन्दी गरिएको छ ।
  
टोखा नगरपालिका- ६ धापासीस्थित सनराइज वेभेरेज नेपाल प्रालिमा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी फिलिङ गरी बिक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको छ ।

सो कम्पनीलाई अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको प्रवक्ता महर्जनले बताउनुभयो । अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका- ११, एकता मार्ग, नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रालि सिलबन्दी गरिएको छ ।

ढुसी लागेको नौनी, घ्यू र चिज स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । जसमा दुई सय ४० केजी नौनी, २५ केजी चीज र ४४ केजी घ्यू रहेको छ। 

ललितपुरको गोदावरी नगरपालिका- ११ स्थित प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रशोधन केन्द्रमा पनि सिलबन्दी गरिएको छ । यहाँ स्थानीय जनप्रतिनिधिको रोहरबरमा ९५ केजी घ्यू नष्ट गरिएको छ । 

काठमाडौँ महानगरपालिका- ९ सिनामङ्गलस्थित ‘प्राप्ति फुड प्रोड्क्ट्स’ को घ्यूको गुणस्तर विश्लेषण प्रतिवेदन गर्दा न्यून गुणस्तरको आएकाले असोज १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधिको रोहरबरमा ८० केजी घ्यू र ३० केजी नौनी नष्ट गरिएको प्रवक्ता महर्जनले जानकारी दिनुभयो ।

यसैगरी उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र उचित तवरले भण्डारण नगरेका चाउमिन छ थान, खुवा ६० किलो, मापदण्डभन्दा बढी खाद्य रङ प्रयोग गरिएको पुरी दुई किलो, बिस्कुट, ससेज चार केजी, बिर्यानी मसला पाँच केजी, मह चार किलो, कोदोको पिठो छ किलो, पेयपदार्थ ५१ बोतल, चिली हट सस लगायत अन्य खाद्य पदार्थ गरी करिब रु १० हजार ८५० बराबरको सामान नष्ट गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य व्यवसायीलाई विभागले आग्रह गरेको छ । लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री वितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्यवस्तु खरिद बिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्यपदार्थ छोपेर राख्न, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिइएको छ । 

निरीक्षणका क्रममा कमजोरी देखिएका करिब १३ वटा खाद्य कम्पनीलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।