
तनहुँ, असोज १५ :
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका- ४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर- ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारी साधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिनुभयो ।