पाल्पा, फागुन ६ :

शिक्षण क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत यस वर्षको ‘मीना दिदी पुरस्कार’ बैतडीकी कृष्णा बिष्टलाई प्रदान गरिएको छ। पाल्पाको किसान माध्यमिक विद्यालयकी प्रथम महिला शिक्षिका मीना कुमारी कार्कीको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।

किसान मा.वि.को ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा तत्कालीन प्रधानाध्यापक वासुदेव अर्याल, पुरस्कारकी संरक्षक डा. आरती कार्की, सदस्य सचिव उमानाथ पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पराजुली, गाउँपालिका अध्यक्ष यम चिदी तथा कलाकारहरूले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा  तत्कालीन प्रधानाध्यापक वासुदेव अर्यालले मीना दिदीले विद्यार्थीप्रति आमाजस्तै माया र जिम्मेवारी निर्वाह गरेको उल्लेख गरे।

यस्तै पूर्व जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले मीना दिदीले बालबालिकाको व्यक्तिगत सरसफाइदेखि सन्तुलित आहारबारे गाउँस्तरमै चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

डा. नीलम कार्की निहारिकाले “एक नारी शिक्षित भए परिवार मात्र होइन, समग्र समाज नै शिक्षित हुन्छ” भन्ने धारणा व्यक्त गर्दै आमाको मार्गदर्शन र नैतिक शिक्षाले जीवनलाई सहज बनाएको अनुभव सुनाइन्।

विद्यालयका सहायक प्रधानाध्यापक तथा मीना दिदीका पूर्व विद्यार्थी गजेन्द्र पन्थीले उनलाई जन्म दिने आमापछिकी आमा सरह व्यक्तित्वका रूपमा चित्रित गरे। समाजसेवी मित्रलाल पोखरेलले मीना दिदी गाउँकै उदाहरणीय शिक्षिका भएको र उनकै प्रेरणाले धेरै छोरीहरूले शिक्षा प्राप्त गर्ने अवसर पाएको बताए।

यस्तै कलाकार नारायण रायमाझीले आफ्नी गुरुआमा मीना दिदीलाई स्मरण गर्दै करिब ६ दशकअघि शिक्षा क्षेत्रमा आबद्ध भई विशेषगरी छोरीहरूलाई पढ्नुपर्छ भन्ने चेतना फैलाउन उनले खेलेको भूमिका उदाहरणीय रहेको बताए।

पुरस्कृत व्यक्तित्व कृष्णा बिष्टको परिचय प्रस्तुत गर्दै सदस्य सचिव पोखरेलले उनले पनि ग्रामीण क्षेत्रमा रहेर सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएको जानकारी दिए। बिष्ट बैतडीकी पहिलो महिला शिक्षक हुन्। उनले २०३३ सालदेखि २०६१ सालसम्म शिक्षण पेशामा रही छाउपडी प्रथा न्यूनीकरण, दलित तथा जनजाति समुदाय र बालबालिकाको हकहित संरक्षण, महिला उत्थान तथा गरिब र पिछडिएका बालिकालाई प्राविधिक शिक्षामा सहयोग पुर्‍याएकी थिइन्।

पुरस्कार ग्रहण गर्दै बिष्टले मीना दिदीजस्तै योगदान दिने महिला शिक्षकहरूलाई समाजसामु चिनाउने र त्यस्तै कार्य गर्न उत्प्रेरणा दिने उद्देश्यले यस्तो पुरस्कार स्थापना गरिएकोमा खुसी व्यक्त गरिन्।

गाउँपालिका अध्यक्ष यम चिदीले मीना दिदी पुरस्कार स्थापना गरेर छोरीहरू डा. आरती कार्की र डा. नीलम कार्कीले आमा–बुबाप्रति कर्तव्य निर्वाह गर्न सक्ने उदाहरण प्रस्तुत गरेको बताए। यस्ता प्रयासले छोरीप्रतिको सामाजिक सोच परिवर्तनमा सहयोग पुग्ने उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पराजुलीले मीना कुमारी कार्की सम्पूर्ण विद्यार्थी र समाजकै ‘मीना दिदी’का रूपमा परिचित रहेको उल्लेख गर्दै आफू पनि उनको विद्यार्थी भएकोमा गर्व लागेको बताए। पुरस्कारकी संरक्षक डा. आरती कार्कीका अनुसार ‘मीना दिदी पुरस्कार’ हरेक वर्ष नेपालभरका महिला शिक्षकलाई प्रदान गरिनेछ।