सुर्खेत, फागुन ७ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मुलुकमा थिति बसाल्ने संकल्पका साथ आसन्न निर्वाचन केन्द्रित पार्टीको वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगाएतका नेताहरुले आसन्न निर्वाचन केन्द्रीत पार्टीको वाचा पत्र सार्वजनिक गरेका हुन् ।

रास्वपामा वाचापत्रमा मुलुकको रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु प्रस्तुत गरिएको छ । रास्वपाले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयन गर्ने, पारदर्शीता, पहुँच र उत्तरदायित्व सुनिश्चित गर्न डिजिटल सर्भिस डेलिभरिको समयवद्ध कार्ययोजना स्वीकृत गरि कडाइका साथ कार्यान्वयन गर्ने, सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन खारेज गर्ने लगाएत उल्लेख छ ।

त्यस्तै संक्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन तत्काल काम गर्ने, आर्थिक रुपान्तरणका लागि  नजितामूखी समयबद्ध कार्ययोजना लागू गर्ने समेत वाचा पत्रमा उल्लेख छ ।

वाचापत्र सार्वजनिक गर्दै रास्वपा सभापति रवि लामिछानेले बहुमतको स्थायी सरकार दिन नसके मुलुक अप्ठेरो ठाँउमा पुग्न सक्ने भएकाले यसको जिम्मा जनतालाई दिएको बताए । जनताले खोजेको बिकल्प रास्वपा भएकाले अव देश बनाउनका लागि जनताको साथ प्राप्त हुने उनको भनाइ छ । लामिछानेले रास्वपाले सरकार बनाएपछि गर्ने काममा जनताले आशंका गर्न नपर्ने दाबी गरे ।

त्यस्तै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको विकासका लागि उत्पादनलाई कम्तीमा पनि देशभर पु¥याउने पार्टी बन्न चाहेको बताउए । कर्णालीको दुखलाई बेच्ने नेता धेरै आएपनि दु;ख बुझ्ने नेता आउन नसकेकाले रास्वपा जनताको पार्टी बन्न खोजेको उनको भनाइ छ । उनले कर्णालीको प्रचुर सम्भावनालाई वृद्धि गर्नका लागि जनताको साथ प्राप्त हुने धारणा राखे ।

रास्वपाले सहकारी बचतकर्ताहरुको पैसा फिर्ता गराउने र सहकारीका सबै समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाएको छ भने भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अभ्यास गर्ने र पार्टीको अनुशासन आयोगलाई थप बलियो बनाउने वाचापत्रमा उल्लेख गरिएको छ ।