
रौतहट, फागुन १० :
गौरलगायतको क्षेत्रको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षीय बैठक बसिरहेको छ । यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय छलफलबाट निकास निकाल्ने प्रयास भइरहेको छ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरु सहभागी छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बैठकबाट ठोस निष्कर्ष निस्कने बताए । गौर नगरपालिका–६ स्थित सबगढा गाउँमा शुक्रबार जन्तीको विषयमा झडप हुँदा अवस्था तनावपूर्ण बन्न पुगेको थियो । स्थितिलाई थप भड्किन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । झडपको क्रममा आधा दर्जन सवारीसाधनमा आगजनी र तोडफोड भएका थिए ।
शासनले लगाएको कर्फ्युका कारण गौरलगायत आसपासको क्षेत्र सुनसान छ । बजार र आसपास क्षेत्रमा ठूलो सख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।