
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा-५ मा उम्मेदवारी दिएका वरिष्ठ नेता बालेन्द्र साह 'बालेन'ले सोमबार चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन्।
राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु भन्दै उनले राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने,विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने,झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने लगायतका वाचापत्र सार्वजनिक गरेका छन् ।
उनले बेथिति र भ्रष्टाचार विरुद्ध अग्रपंक्तिमा उभिने र स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रुपमा प्रस्तुत गर्ने समेत जनाएका छन् ।
यस्तो छ मुख्य ९ बुँदे प्रतिबद्धता
-‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२ : थिति बसाल्ने संकल्प ’कार्यान्वयनको नेतृत्व गर्नेछु।
-नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु।
-राष्ट्रहितविपरीत कुनै पनि सम्झौता गर्ने छैन ।
-सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु।
-विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।
- झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु ।
-राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु ।
-मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्नेछु ।
-मेरो राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुनेछ।