
पूर्वसभामुख देवराज घिमिरेले रास्वपा सभापति रवि लामिछानेको भड्काउ अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। घिमिरेले संसदीय नियमावलीअनुसार कार्य भएको बताउँदै लामिछानेको अभिव्यक्तिलाई घृणा फैलाउने प्रयासको रूपमा खण्डन गरेका छन्।
मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर-३ स्थित रास्वपाकी उम्मेदवार तथा पूर्वउसभामुख इन्दिरा रानामगरको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले झापा २ मा एमालेबाट उम्मेदवार रहेका पूर्वसभामुख घिमिरेले सभामुखको कार्यकालमा आफूहरूलाई संसदमा बोल्न नदिएर माइक काटिदिने गरेको भड्काउ अभिव्यक्ति दिएका थिए।
लामिछानेको अभिव्यक्तिलाई पूर्वसमामुख घिमिरेले आफूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति भनेका छन्। लामिछानेको सहकारी प्रकरणलाई लक्षित गर्दै घिमिरेले निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहेको हो भन्दै उल्टै लामिछानेमाथि नै प्रश्न गरेका छन्।