
धमाधम मतपरिणाम आइरहँदा यस पटकको संसद्मा ६ दलको प्रतिनिधित्व हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व गर्ने दिशामा अघि बढिरहेको छ भने कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले केही सिट जितेर संसद्मा प्रतिनिधित्व गर्ने देखिन्छ । जसपा, जनमत, नाउपा, नेमकिपा र जनमोर्चाको संसदमा उपस्थिति नहुने पक्का भएको छ। महावीर पुन बाहेक कुनै पनि स्वतन्त्र उम्मेदवारले जित्ने सम्भवना देखिएको छैन।
रास्वपाले प्रत्यक्षतर्फ ५२ सिट जित्दा ६८ स्थानमा अग्रता लिएको छ। कांग्रेसले ८ स्थानमा जित्दा १२ मा अग्रता छ भने एमालेले २ सिट जित्दा १० स्थानमा अग्रता लिरहेको छ। नेकपाले २ सिट जित्दा ८ मा अग्रता छ। राप्रपा १ सिटमा जित नजिक पुगेको छ भने श्रम संस्कृति पार्टीले ३ ठाउँमा अग्रता लिरहेको छ।
समानुपातिकतर्फ अहिलेसम्म ३ लाख ३८ हजार ९९ मत गणना हुँदा रास्वपाले १ लाख ९० हजार ६३२ मत पाएको छ। कांग्रेसले ५७ हजार ५६६, एमाले ४४ हजार १२२, नेकपाले १९ हजार २५४, राप्रपा १५ हजार २६४ र श्रम संस्कृतिले ७ हजार ८८६ मत पाएको छ।