
फाइल तस्बिर ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै उनले अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले बताए ।
आयोगको प्रतिवेदन ग्रहण गरेपछि उनले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।” उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन्।
साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गर्नुभएको मेहनतको सराहना गरिन् ।गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री कार्की समक्ष उक्त प्रतिवेदन बुझाएको हो।
आन्दोलनमा जसले गल्ती गरेको छ उसलाई कारबाहीको सिफारिस भएको सदस्य शर्माले बताए । आन्दोलनका क्रममा केही सुरक्षा लापरबाही र कमी कमजोरी भएको प्रतिवेदनमा औल्याइएको छ । आयोगको पछिल्लो पटक थप भएको समय आज सकिएको छ ।