
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।
यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । उनीहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश पनि दिएको छ ।
अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३५ मुनिका २० जना उम्मेदवार निर्वाचित भएका छन् ।
यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा छन्, ३० वर्षीया सोविता गौतम । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य रहेकी गौतम चितवन–३ बाट विजयी भएकी छन् ।
उनले ५९ हजार २७७ मत ल्याएर विजयी भएकी हुन् । गौतमको निकतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् । ३० वर्षको उमेरमा उनी दोस्रोपटक प्रतिनिधिसभाको सांसद बनेकी छन् । उनले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौँ–२ बाट जित हासिल गरेकी थिइन् । कानुनमा स्नातक गरेकी अधिवक्ता गौतमले अत्यधिक मतका साथ विजयी भइन् ।
पैँतीस वर्षमुनिकै अर्का सांसद छन्, सुलभ खरेल । २०५४ साल भदौ बुटवलमा जन्मुनिएका खरेल २८ वर्षको उमेरमा नै सांसद बन्ने अर्को उम्मेदवार हुन् । उनी प्रतिनिधिसभा सदस्यको चुनावमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भएका छन् । उनीका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री रहेका नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका थिए। खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्यायन गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रुविना आचार्य विजयी भएकी छन् । विराटनगरमा जन्मिएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उनीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले १२ हजार ८५० मत ल्याएकी थिइन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी विजयी भएका छन् । भुम्लु गाउँपालिका–२ मा जन्मिनुभएका बदनले ५३ हजार ३४४ मतसहित विजयी भएका हुन् । ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कलिलो उमेरमा नै सांसद बनेकी छन् । उनी २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी थिइन् । डाँगीले यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अवसर पाइन् ।
२६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ४१ हजार ३४७ मतसहित विजयी भएका हुन् । मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मिएका उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गरेका छन् ।
अट्ठाइस २८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित भएका छन् । उनले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् । सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।
रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये अर्को नाम हो सन्तोष राजवंशी । ३४ वर्षीय राजवंशी मोरङ–४ बाट विजयी भएका हुन्। सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशङ्कर यादव पनि निर्वाचित भएका छन् । रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । रास्वपाबाटै महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित भएका छन् । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् ।
काठमाडौँ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भएका छन् । २०५२ फागुन १ गते काठमाडौँमा जन्मिएका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् ।
मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जितेका छन् । निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवारको अर्को नाम हो सागर ढकाल । रास्वपाकै तर्फबाट गुल्मी– १ बाट उनी निर्वाचित भएका छन् ।
पैँतीस वर्षमुनिको अर्का सांसद हुन्, प्युठान– १ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक । काठमाडौँ– १ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने (दर्शना) । वैकल्पिक राजनीतिका रूपमा उदाएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।
रास्वपाकै अर्का निर्वाचित सांसद हुन्, ३४ वर्षीय सोम शर्मा । उनी बाग्लुङ–२ बाट निर्वाचित भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव विजयी भएका छन् । कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालले १९ हजार ५७ मत ल्याएर विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित भएका छन् । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् ।
यसैगरी, प्यूठान–१ उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट भने ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित भएका छन् । यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन् ।