
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रीत गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रीत गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताए । उनले आफुहरुको भूमिका कानून निर्माणमा भएपनि जनताले विकासको अपेक्षा आफुहरुबाट पनि गरेकाले समस्या हुने गरेको गुनासो गरे ।
त्यस्तै राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देश बनाउनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर अघि बढ्नुपर्ने बताए । मुलुकको विकास, सुशासन लगाएतका लागि आवश्यक कानून बनाउनुपर्ने आवश्यकता देखिएकाले त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ ।
उनले अहिले दुईतिहाई वा बहुमत ठूलो कुरा नभएको भन्दै राष्ट्रिय हितका लागि कुनै कानून रोक्ने काम नहुने र आफुहरुको पूर्ण सहयोग हुने धारणा राख्नुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले जनता र राष्ट्रको हित हुने काममा सवैसंग सहकार्य गर्दै अघि बढ्ने बताइन् । प्रतिनिधिसभा जस्तै राष्ट्रियसभाले पनि यसअघि जस्तै जिम्मेवार भएर काम गर्ने उनको भनाइ थियो ।