काठमाडौं, फागुन ३० :

प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ ४ सिट मात्र प्राप्त गरेको श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने आकांक्षी बढेपछि आन्तरिक विवाद चर्किएको छ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार जीवन विष्ट र मीना सिंगकले भने सामाजिक सञ्जालमार्फत स्वेच्छिक रूपमा आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। विष्ट खस आर्य पुरुषतर्फ पहिलो नम्बरमा र सिंगक आदिवासी जनजाति महिलातर्फ तेस्रो नम्बरमा बन्दसूचीमा रहेका थिए। सीमित सिटका कारण पार्टीभित्र थप विवाद बढ्न नदिन आफूहरूले पछि हट्ने निर्णय गरेको उनीहरूको भनाइ छ।

विष्टले संसदमा गोर्खा लाहुरे समुदायको प्रतिनिधित्व हुनुपर्ने उल्लेख गर्दै भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूलाई समानुपातिकतर्फ पठाउन पार्टीलाई आग्रह गरेका छन्।

चार सिट मात्र प्राप्त भएपछि अन्य आकांक्षीहरूको दाबी पनि बढेको छ। आदिवासी जनजातितर्फ बन्दसूचीमा रहेकी समला साम्पाङ राईले आफू सांसद हुनैपर्ने दाबी गरेपछि विवाद थप चर्किएको हो। त्यस्तै आशा लामा पनि सांसद बनाउनुपर्ने माग गर्दै काठमाडौंबाट धरान पुगेकी छिन्।

यसैबीच पार्टी अध्यक्ष हर्क साम्पाङले समानुपातिक सिटका विषयमा अत्यधिक दबाब दिने वा सार्वजनिक रूपमा विरोध गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्नेसम्मको चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा उनले समानुपातिक विषयमा 'रोइलो' नगर्न आग्रह गर्दै अनुशासनहीनता भए कारबाही गरिने बताएका छन्।