ललितपुर, चैत ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले जनअपेक्षा अनुसार काम गर्न आफूहरुले ध्यान केन्द्रीत गर्ने जनाएका छन् । ललितपुरमा पार्टीले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आफूहरुलाई जनताले विश्वास गरी सदनमा पठाएको भन्दै जनअपेक्षा अनुसार काम गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।

रास्वपाका नवनिर्वाचित सांसद गणेश पराजुलीले सुशासन कायम गर्ने, कानून बनाउने र जनअपेक्षा अनुसार काम गर्न सांसदहरुलाई अभिमूखीकरण गरिएको बताए। रास्वापाका सांसदहरुले पूर्ण जिम्मेवार भएर जनादेश अनुसार आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए।

त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद हरि ढकालले विगतको अनुभवबाट सिक्दै मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अघि बढाउन भूमिका खेल्ने बताए । उनले सुशासनको मुख्य एजेण्डाका लागि काम गर्न स्पष्ट संख्या पुगेकाले आफूहरु उत्साहित भएर काम गर्ने धारणा राखे । आगामी पाँच वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहान सफा गर्ने उनको भनाइ छ ।

त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद भूमिका श्रेष्ठले सवै समूदायको हक अधिकार स्थापित गर्नका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने बताइन् ।प्रतिनिधिसभा सदस्यको सपथ अघि रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो ।