काठमाडौं, ६ साउन । श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार आज साँझ  ७.१५ बजे श्रीलंकाको दाम्बुलामा सुरु हुदैछ ।

प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो।

पहिलो खेलमा सम्झना खड्काको उत्कृष्ट इनिङको मद्दतमा नेपालले युएईलाई हराएको थियो । १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट मात्र गुमाएर भेटाएको थियो ।

जुन खेल नेपालको एसिया कप इतिहासमा पहिलो जित थियो । यसअघि सन् २०१२ र २०१६ मा गरी खेलेको दुई संस्करणमा नेपालले सबै ९ खेलमा हार बेहोरेको थियो ।उता पाकिस्तान भने पहिलो खेलमा भारतसँग सहजै पराजित भएको थियो । भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।

पाकिस्तानले दिएको १ सय ९ रनको लक्ष्य भारतले १४.१ ओभरमै पूरा गरेको थियो । त्यसकारण पनि पाकिस्तान आज जितका लागि प्रयासरत रहनेछ ।आज सफलता मिलेको अवस्थामा नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत बलियो हुनेछ ।  क्रिकेटको इतिहासमा नेपालले अहिलेसम्म टेस्ट राष्ट्रलाई हराएको भने छैन । तर आजको खेल नेपालका लागि पाकिस्तानलाई हराउँदै अभूतपूर्व सफलता हासिल गर्ने मौका भने पक्कै हो ।