काठमाडौं, चैत १३ :

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफैँसँग राखेका छन्।  स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  तेस्रो वरीयताका रहेका सुधन गुरुङले शक्तिशाली गृह मन्त्रालयको कार्यभार सम्हालेका छन्।

यस्तै परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनालले पाएका छन्। प्रधानमन्त्रीका पूर्वसल्लाहकार सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी दुई  मन्त्रालयको जिम्मा पाएका छन्। विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्।

यस्तै, खड्कराज पौडेल (गनेश)ले पर्यटन, सस्मित पोखरेलले शिक्षा र खेलकुद, निशा मेहताले स्वास्थ्य, विक्रम तिमिल्सिनाले सञ्चार,  प्रतिभा रावलले सामान्य प्रशासन, दीपक साह (महोत्तरी)ले श्रम, सोबिता गौतमले कानुन र सीता वादीले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्।   प्रधानमन्त्री बालेनको मन्त्रिमण्डलमा युवा र विज्ञहरूको बाहुल्यता रहेको छ ।