
कागेश्वरी मनोहरा नगरपालिकाको निमन्त्रणामा नेपाल आएको अमेरिकाको ह्यारिसनभिल सिटीका मेयर माइक जारिङ नेतृत्वको प्रतिनिधिमण्डललाई सोमबार विशेष कार्यक्रमकाबीच बिदाइ गरिएको छ।
गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी तथा वडाध्यक्षहरूले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न जातीय तथा सांस्कृतिक भेषभूषामा आकर्षक नृत्य प्रस्तुत गरिनुका साथै नेपाली संस्कृति झल्काउने कार्यक्रमहरू देखाइएको थियो।
सो अवसरमा नगरप्रमुख कार्कीले नेपाल र अमेरिकाबीचको सम्बन्ध ऐतिहासिक रूपमा घनिष्ठ रहेको उल्लेख गर्दै कागेश्वरी मनोहरा नगरपालिका र ह्यारिसनभिल सिटीबीच स्थापना भएको भगिनी सम्बन्धले दुई सहरलाई अझ नजिक ल्याएको बताए। उनले आगामी दिनमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे।
बिदाइका क्रममा मेयर जारिङले भावुक सम्बोधन गर्दै नेपाली आतिथ्यप्रति आभार प्रकट गरे। उनले यहाँको माया, सद्भाव र सहयोगले आफू प्रभावित भएको उल्लेख गर्दै नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण समुदायको प्रशंसा गरे। साथै, उनले आफ्नो भ्रमण उपलब्धिमूलक रहेको बताउँदै दुई सहरबीचको सम्बन्ध ‘सम्पर्क’बाट ‘मित्रता’मा रूपान्तरण भएको धारणा राखे।
उनले नेपाली जनताको सरलता र उदारताको उच्च मूल्यांकन गर्दै यस अनुभवलाई जीवनभर सम्झिरहने बताए। सम्बोधनको अन्त्यमा उनले प्रेम, धैर्यता र सत्यप्रतिको आस्थालाई काव्यात्मक रूपमा प्रस्तुत गर्दै कागेश्वरी मनोहरा तथा नेपालका जनताको समृद्ध भविष्यको कामना गरे।
नेपाल बसाइँका क्रममा कागेश्वरी–मनोहरा नगरपालिका र ह्यारिसनभिल सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। उक्त सम्झौतामा कागेश्वरी मनोहराको तर्फबाट नगरप्रमुख उपेन्द्र कार्की र ह्यारिसनभिल सिटीका तर्फबाट मेयर जारिङले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार दुवै नगरपालिकाबीच शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहकार्य अघि बढाइनेछ। साथै, नागरिकस्तरमा आपसी सम्बन्ध सुदृढ गर्दै अनुभव र ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
नेपाल बसाइँका क्रममा सो टोलीले कागेश्वरी मनोहरा नगरपालिका भित्रका विभिन्न धार्मिक,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण र अवलोकन गरेको थियो ।नगरपालिकाको निमन्त्रणामा मेयर जारिङ नेतृत्वको टोली एक साताअघि नेपाल आएको थियो।