काठमाडौं, चैत १८ :

प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बुधबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरी तालिका बनाउने सहमति जुटेको हो । 

सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो बैठकमा नै निर्वाचनको प्रस्ताव प्रस्तुत हुने र चैत्र २० गते मनोनयन दर्ताका लागि समय छुट्टाउने गरि प्रक्रिया अघि बढ्ने रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि नयाँ नियमावली नबन्दासम्म पहिलेकै नियमावलीबाट बैठक सञ्चालन गरिने उनले बताए ।
त्यसैगरी पहिलो बैठकमा जेनजी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिने र दलका शीर्ष नेताहरुले शुभकामना मन्तव्य दिने तय भएको छ ।

रास्वपा सांसद बुर्लाकोटीले कार्यव्यवस्थामा रास्वपाका सांसदहरुको संख्या अलि बढि रहेकाले अरु दलका सांसदहरुलाई प्रतिनिधित्व गर्ने विषयमा छलफल भएको र यस विषयमा पार्टीभित्र पनि छलफल गर्ने बताए ।

त्यस्तै बैठकपछि राप्रपा सांसद खुश्वु ओलीले राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई हरेक समितिमा प्रतिनिधित्व गराउने विषयमा आफूले कुरा राखेको बताइन् । प्रतिनिधिसभा नियमावलीमा संशोधन गर्ने बिषयमा पनि पार्टीका तर्फबाट आवश्यक सुझाव राखिएको उनको भनाइ छ ।

प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउसो २ बजे संसद भवन सिंहदरबारमा बस्दैछ । सो बैठकको कार्यसूची तयार गर्न संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुसंग संसद सचिवालयले छलफल गरेको हो ।