
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न सदैव तयार रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित चन्द्रलोक प्रतिष्ठानको छैठौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाले कानुन निर्माण तथा सरकार र जनताको पुलको भूमिका निर्वाह गर्नुका साथै निरन्तर खबरदारी गर्दै आएको भन्दै आगामी दिनमा पनि नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न सदैव तयार रहेको बताएका हुन् ।
उनले कानुनहरू व्यवहारिक, समावेशी र समयकुल हुनुपर्ने उल्लेख गर्दै यसका लागि सामाजिक संस्थाहरूको अनुभव, सुझाव र सहभागिता अत्यन्त महत्वपूर्ण हुने धारणा राखे । सञ्चार, शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगले अभूतपूर्व परिवर्तन ल्याएपनि केही चुनौतीहरू पनि देखा पर्नु चिन्ताको विषय भएको उनले बताए ।
अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानसहित अन्य उपलब्धिहरू, मानवता, देशप्रेम, राष्ट्रिय एकता र सहयोगी भावनाको संरक्षण र प्रवद्र्धन गर्न सामाजिक संस्था तथा व्यक्तिहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।
युवा पुस्तालाई सही मूल्य, आदर्श र जिम्मेवारीबोध दिलाउनु आजको मुख्य आवश्यकता भएकाले युवाहरूलाई केवल दक्ष मात्र नभइ जिम्मेवार नागरिकका रूपमा पनि तयार गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई सम्मान गरिएको थियो ।