काठमाडौं, चैत २६ :

उपसभामुखमा समर्थन गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र मतभेद देखिएको छ । मतभेदले पार्टीको आन्तरिक असहमतिलाई नै उजागर गरेको छ। पार्टी सभापति रवि लामिछानेले राप्रपालाई समर्थन गर्ने भन्दै दिएको वचन खेर गयो । 

उनले वचन दिएर नै उम्मेदवारी समेत दर्ता गर्न लगाए । राप्रापा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपा सभापति लामिछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको सञ्चारकर्मीहरूलाई बताएका थिए। सभापतिको वचनलाई उल्टयाउँदै  पार्टी श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने औपचारिक निर्णयमा पुग्यो । नेताहरुको दबाबले  सभापति नै अल्पमतमा परे ।

उपसभामुखमा श्रम संस्कृति पार्टीबाट २५ वर्षीया सांसद रुबीकुमारी ठाकुरको उम्मेदवारी दर्ता गर्ने क्रममा रास्वपाका महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीको उपस्थितिमा अशोक चौधरीले समर्थन गरेका छन्।

सभापति लामिछानेसहितका केही नेता राप्रपालाई समर्थन गर्नुपर्ने पक्षमा उभिँदा प्रधानमन्त्री बालेन्द्र शाह, महामन्त्री बुर्लाकोटी, मनिष झा लगायतका नेताहरु श्रम संस्कृतिको पक्षमा देखिएका थिए।