
राष्ट्रियसभा सदस्यहरुले संसदीय समितिहरुले दिएको निर्देशन र सुझावहरुको कार्यान्वयनमा जोड दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनीहरुले समितिले निकै मेहनत र गम्भीर भएर छलफलमार्फत सरकारलाई आवश्यक निर्देशन र सुझाव दिएपनि कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै समितिको निर्देशन कार्यान्वयनमा जोड दिएका हुन् । समितिको वार्षिक कार्ययोजनाको वारेमा छलफल गर्दै उनीहरुले आगामी दिनमा जनसरोकारका मुद्दाहरुलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने समेत धारणा राखेका छन् ।
राष्ट्रिय सभा सदस्य कमला पन्तले भाद्र २३ र २४ को घटनामा भएको सुरक्षा कमजोरीका विषयमा आगामी दिनमा छलफल गर्नुपर्ने बताइन् । उनले यसअघि दिएका निर्देशन कार्यान्वयन नहुनु गम्भीर विषय भएकाले निर्देशन कार्यान्वयन हुने अवस्था बनाउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले समितिले गहिराइमा पुगेर सुझाव तयार गरेपनि कार्यान्वयनमा कमजोरी देखिएको बताइन् । अहिलेको सरकारलाई झन् समितिको निर्देशन कार्यान्वयन गराउन कठिन हुने देखिएको उनको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले समितिले तराई मधेशका जनताको समस्या लगाएत जनसरोकारका मुद्दाहरुलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने धारणा राखे ।