
भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत राजीनामा दिएको पुष्टि गर्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
राजीनामापछि उनले आगामी सरकारलाई पूर्ण सहयोग र आवश्यक मार्गदर्शन दिने प्रतिबद्धता पनि जनाएका छन्। साथै, आफ्नो कार्यकालको समीक्षा गर्दै उनले सन् २००५ नोभेम्बर २४ मा पहिलो पटक एनडीए नेतृत्वको सरकार गठन भएको स्मरण गरेका छन्। त्यसयता राज्यमा कानुनी शासन स्थापित भएको र विकासका कामहरू निरन्तर अगाडि बढाइएको उनको दाबी छ।
नितिश कुमारले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, विद्युत्, कृषि लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गरेका छन्। उनले महिला तथा युवाका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। साथै, राज्यका सबै धर्म, जाति, समुदाय तथा वर्गका जनताको समग्र विकासमा आफूले योगदान दिएको उनको भनाइ छ।
हालै मात्र उनी बिहारबाट राज्य सभाका सदस्यमा निर्वाचित भएका थिए र सांसद पदको शपथ पनि लिइसकेका छन्। उनी पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा मुख्यमन्त्री रहेका थिए।
उनको राजीनामासँगै बिहारमा पहिलो पटक भाजपाको नेतृत्वमा सरकार गठन हुने भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ मुख्यमन्त्रीका रूपमा सम्राट चौधरीलाई अगाडि सारिएको छ।
नितिश कुमारको राजनीतिक यात्रा लामो समयदेखि बिहारको सत्तासँग जोडिएको छ। उनी पहिलो पटक सन् २००० मा सात दिनका लागि मुख्यमन्त्री बनेका थिए। त्यसपछि सन् २००५ देखि २०१४ सम्म करिब ८ वर्ष १७७ दिन पदमा रहे। बीचमा जितनराम मन्जित सन् २०१४ देखि २०१५ सम्म २७८ दिन मुख्यमन्त्री बनेका थिए। त्यसपछि नितिश कुमार पुनः सत्तामा फर्केर करिब ११ वर्ष ५१ दिन लगातार मुख्यमन्त्री रहेर अन्ततः पदबाट राजीनामा दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेको कुरालाई जस्ताको तस्तै नेपाली भाषामा
तपाईंलाई थाहा छ कि २४ नोभेम्बर २००५ मा राज्यमा पहिलो पटक एनडीए सरकार बनेको थियो। त्यसयता राज्यमा कानुनको शासन स्थापित भएको छ र हामी निरन्तर विकासका काममा लागिरहेका छौं। सरकारले सुरुदेखि नै सबै वर्ग, समुदाय र तहका मानिसहरूको विकासका लागि काम गरेको छ—चाहे हिन्दू होस् वा मुस्लिम, उच्च जाति होस् वा पिछडिएको वर्ग, अति पिछडिएको, दलित वा महादलित—सबैका लागि काम गरिएको छ। हरेक क्षेत्रमा प्रगति भएको छ, चाहे शिक्षा होस्, स्वास्थ्य होस्, सडक होस्, विद्युत् होस् वा कृषि होस्। महिला तथा युवाका लागि पनि धेरै काम गरिएको छ।
हालका दिनहरूमा विकासका कामहरूलाई अझ अगाडि बढाइएको छ। आगामी पाँच वर्ष अर्थात् २०२५ देखि २०३० सम्मका लागि ‘७ निश्चय–३’ कार्यक्रम ल्याइएको छ। यसबाट अझ धेरै काम हुने छ र बिहार अझ अगाडि बढ्नेछ। बिहारको विकासमा केन्द्र सरकारको पनि पूर्ण सहयोग प्राप्त भइरहेको छ। यसका लागि आदरणीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई धन्यवाद व्यक्त गर्दछौं। बिहार अझ तीव्र गतिमा विकास हुनेछ र देशका अग्रणी राज्यहरूमा समावेश भई राष्ट्रको प्रगतिमा महत्वपूर्ण योगदान गर्नेछ।
हामीले बिहारका जनताका लागि धेरै काम गरेका छौं। लामो समयदेखि हामी निरन्तर जनताको सेवामा लागिरहेका छौं। हामीले अब मुख्यमन्त्री पद त्याग्ने निर्णय गरेका थियौं, र त्यसैअनुसार आज मन्त्रिपरिषद्को बैठकपछि माननीय राज्यपालसमक्ष राजीनामा पेश गरेका छौं। अब नयाँ सरकारले यहाँको जिम्मेवारी सम्हाल्नेछ। नयाँ सरकारलाई मेरो पूर्ण सहयोग र मार्गदर्शन रहनेछ। आगामी दिनहरूमा अझ राम्रो काम हुनेछ र बिहार अझ धेरै अगाडि बढ्नेछ।
सबैलाई धेरै-धेरै धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु।