
सर्वोच्च अदालतले कांग्रेस विवादको कानुनी रुपमा टुंगो लगाएसँगै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । विशेष महाधिवेशनलाई मान्यता दिने फैसला भएसँगै खड्कालाई सोधिएको सातदिने स्पष्टीकरण फिर्ता लिने तयारी भएको स्रोतले बताएको छ ।
सर्वोच्चले केही दिन अघि पूर्वसभापति शेरबहादुर देउवा र खडकाले दायर गरेको रिट खारेज गर्नुको साथै विशेष महाधिवेशनलाई मान्यता दिने फैसला गरेको थियो ।
खड्काले कार्यवाहक सभापतिको हैशियत प्रयोग गरेर पार्टीको 'लेडर हेड’ दुरुपयोग गरे समानान्तर गतिविधि चलाएको भन्दै गत बुधबार स्पष्टीकरण सोधिएको थियो ।
अदालतको फैसलापछि उनको कार्यवाहक सभापतिको हैसियत समाप्त भएको छ । उनले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पनि पूर्वकार्यवाहक सभापति भनेर राखेका छन्।
यसैबीच सभापति गगन थापाले पार्टी एकताका लागि खड्कासँग संवाद गरेका छन् । आइतबार राति करिब एक घण्टा दुई नेताबीच संवाद भएको थियो ।
थापाले पार्टी एकताका लागि पार्टीका शिर्ष नेताहरुसँग पहल गर्न सुरु गरेका हुन्। 'पार्टीको बृहत्तर एकताका लागि सिनियर नेताहरुसंग सवाद सुरु गरेको छु’ भेटपछि थापाको भनाइ थियो ।