
प्रमुख विपक्षी नेता तथा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्म राज आङ्देम्बेले आज दिउँसो १२ बजे सिंहदरबार स्थित काँग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बोलाएका छन् ।
बैठकमा नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी बीच विपक्षी दलहरूको बैठक बोलाइएको छ ।
बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीति लगायत एजेण्डामा छलफल हुने बताईएको छ ।
मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो ।
लगत्तै प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् । उनले लोकतन्त्र, जनअभिमत,सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा नदिन प्रतिपक्ष प्रतिबद्ध रहेको चेतावनी दिएका छन् ।
आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास भनि प्रश्न गरेका छन् ।
सरकारले दुई अध्यादेश ल्याएपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा शब्दमा विरोध जनाएका छन् ।
सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको भनिएपनि सरकारको तर्फबाट भने यसबारे खुलाईएको छैन ।