काठमाण्डौँ , असोज २१ :

विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।

यही असोज २३ गते सङ्घका देशभर रहेका सञ्जालमार्फत बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिनुभयो ।

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने बताउनुभयो । 

पछिल्लो समय विश्वभरि नै बालबालिकामा दृष्टि दोषको समस्या बढिरहेकाले पनि यसपटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्व दृष्टि दिवस मनाउन गइरहेको बताउनुभयो ।

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ। जसमध्ये करिब सात लाख बालबालिका अझैपनि दृष्टिदोषको उपचारबाट बञ्चित रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको छाता सङ्गठन इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) ले संयुक्त रूपमा यो दिवस मनाउन सुरु गरेका हुन्।