
साहित्य, कला, संस्कृति तथा मानवतावादी समाज सुधारका हिमायती एवं अरुणिमा शैक्षिक प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा संरक्षक स्वर्गीय बुद्धिबहादुर (अमिर) थापाको निधनको ४५औँ दिनको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा आयोजना गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी सुरु गरिएको थियो। कार्यक्रममा सहभागीहरूले स्वर्गीय थापाको समाजप्रतिको समर्पण तथा शिक्षा र साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष तथा गुठियार शम्भुप्रसाद बडालले स्वर्गीय थापाले संस्थामार्फत शिक्षा र समाजसेवामा पुर्याएको योगदानको चर्चा गर्दै उनका आदर्शहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। गुठियार सङ्गीता हमाल तथा अरुणिमा अलुम्नाइका अध्यक्ष जितेन्द्र श्रेष्ठले पनि थापाको नेतृत्वदायी भूमिका र संस्थाप्रतिको समर्पणको प्रशंसा गरे।
वक्ताहरूले स्वर्गीय थापालाई संघर्षशील, इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षा क्षेत्रको विकास, सामाजिक जागरण तथा मानव सेवामा उनले खेलेको भूमिका अतुलनीय रहेको बताए। साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, शिक्षाविद् विश्वनाथ अर्याल तथा अर्थविद् प्रा.डा. कैलाशनाथ प्याकुरेलले उहाँका विचार, आदर्श र जीवनदर्शन भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे।
यसैगरी, डा. सुरेश ढकाल र साहित्यकार कोषराज न्यौपानेले स्वर्गीय थापाको साहित्य, कला तथा सांस्कृतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै उनी बहुआयामिक व्यक्तित्व भएको धारणा व्यक्त गरे।
गोकर्णेश्वर नगरप्रमुख दीपक कुमार रिसाल र समाजसेवी रामहरि रिजालले उनको सामाजिक कार्य तथा मानवीय सेवामा गरेको योगदानको प्रशंसा गरे।
भैरव पुरस्कार गुठीका उपाध्यक्ष तथा गुठियार गोपाल प्रसाद बराल र रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेले थापाको समाज सुधार र सांस्कृतिक संरक्षणमा रहेको सक्रियताको स्मरण गरे। पूर्व प्रशासक जनकराज ढुङ्गानाले उनीसँगका आफ्ना अनुभवहरू साझा गर्दै उनी एक प्रेरणादायी र दूरदर्शी व्यक्तित्व भएको बताए।
प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले स्वर्गीय थापाप्रति श्रद्धासुमन अर्पण गर्दै उनको योगदानको स्मरण गरे।
यस अवसरमा स्वर्गीय थापाकी सुपुत्री तथा प्रतिष्ठान गुठियार सङ्गीता थापाले आफ्ना पिताको स्मृतिमा ‘अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष’ स्थापनार्थ ११ लाख ९४ हजार २ सय २६ रुपैयाँको चेक अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडाललाई हस्तान्तरण गरिन्। साथै, सुपुत्र सुशील थापाले परिवारका तर्फबाट उपस्थित सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, कुपन्डोलकी सञ्चालिका ब्रह्मकुमारी गङ्गाले आध्यात्मिक दृष्टिकोणबाट स्वर्गीय थापाको जीवनलाई स्मरण गर्दै उनको सकारात्मक सोच, सेवा भाव र मानवताप्रतिको समर्पण उच्च रहेको बताइन्।