
कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो स्वीकृत कार्यक्रमअन्तर्गत कोटेश्वर बहुमुखी क्याम्पससँगको सहकार्यमा प्रकाशन हुन लागेको कागेश्वरी मनोहरा जर्नल (भाग १) का लागि अनुसन्धानमूलक लेख आह्वान गरेको छ।
नगरपालिकाको अनुसन्धान तथा विकास शाखाका अनुसार बहुविषयक तथा विज्ञ–समीक्षित जर्नलका लागि लेख/शोधपत्र माग गरिएको हो। जर्नलका लागि पठाइने लेखहरू कागेश्वरी मनोहरा क्षेत्रभित्रका आर्थिक, सामाजिक तथा वातावरणीय विषयसँग सम्बन्धित हुनुपर्ने जनाइएको छ। लेख नेपाली वा अङ्ग्रेजी भाषामा पेश गर्न सकिनेछ भने अनुसन्धान नैतिकता र तोकिएका मापदण्डअनुसार तयार गरिएको हुनुपर्नेछ।
जर्नल प्रकाशनका लागि नगरपालिका र कोटेश्वर बहुमुखी क्याम्पसबिच समझदारीपत्र (MoU) मा हस्ताक्षर भइसकेको छ। हस्ताक्षरका क्रममा क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल र नगरप्रमुख उपेन्द्र कार्कीको उपस्थिति रहेको थियो।
जर्नल प्रकाशनलाई व्यवस्थित बनाउन क्याम्पसका सहायक प्रमुख मनोज अधिकारीको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। सहमतिअनुसार जर्नलमा कम्तीमा १० वटा अनुसन्धानमूलक लेख समावेश गरिने जनाइएको छ।
नगरपालिकाका अनुसार जर्नल प्रकाशनको मुख्य उद्देश्य स्थानीय तहमा अनुसन्धान संस्कृति विकास गर्नु, स्थानीय समस्या पहिचान तथा समाधानमा सहयोग पुर्याउनु, ज्ञान आदान–प्रदान प्रवर्द्धन गर्नु तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्नु रहेको छ।
यसै सन्दर्भमा नगरपालिकाको सभाहलमा बुधबार अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा समयसीमाभित्र गुणस्तरीय लेख पेश गर्न, आवश्यक संशोधन गर्न तथा अन्य अनुसन्धानकर्तासम्म सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो।
अनुसन्धानमूलक लेख पेश गर्ने अन्तिम मिति वैशाख २३ गते तोकिएको छ। इच्छुक अनुसन्धानकर्ताले आफ्नो लेख [email protected] मा पठाउन सक्नेछन् भने विस्तृत जानकारीका लागि नगरपालिकाको आधिकारिक वेबसाइट https://kageshworimanoharamun.gov.np/en मा हेर्न सकिने जनाइएको छ।
लेख तयार गर्दा निम्न कुरामा ध्यान दिनुपर्नेछ :
जर्नलका लागि लेख तयार गर्दा मौलिकता अनिवार्य रहनेछ र अन्यत्र प्रकाशित वा प्रकाशनका लागि पठाइएका लेखहरू स्वीकार गरिने छैनन्। लेखको शब्दसीमा (सन्दर्भसूचीबाहेक) ४,००० देखि ५,००० शब्दसम्म निर्धारण गरिएको छ भने अधिकतम १२० शब्दको लेखसार र ३ देखि ५ वटा शब्दकुञ्जी समावेश गर्नुपर्नेछ।
त्यस्तै, लेखमा शीर्षक, लेखसार, शब्दकुञ्जी, विषयपरिचय, पूर्वकार्यको समीक्षा, अध्ययन विधि, नतिजा तथा विमर्श, निष्कर्ष र सन्दर्भसूची समावेश हुनुपर्नेछ। उद्धरण तथा सन्दर्भका लागि APA (7th Edition) शैली अवलम्बन गर्नुपर्ने जनाइएको छ।
लेखहरू डिजिटल ढाँचामा (MS Word) तोकिएको समयसीमाभित्र पेश गर्नुपर्नेछ। साथै, लेखकले आफ्नो संक्षिप्त परिचयसहित शैक्षिक तथा पेशागत विवरण, संस्थागत आबद्धता, इमेल र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ।
सबै लेखहरू दोहोरो अपरिचित (Double-blind) विज्ञसमीक्षा प्रक्रियामार्फत मूल्याङ्कन गरिनेछ। प्राप्त सुझावअनुसार संशोधन गर्नुपर्ने व्यवस्था रहेको छ भने लेख स्वीकृत, अस्वीकृत वा परिमार्जनसम्बन्धी अन्तिम निर्णय सम्पादक मण्डलले गर्नेछ।
नगरपालिकाले लेखमा व्यक्त विचार र तर्कहरू लेखककै व्यक्तिगत हुने स्पष्ट पार्दै प्रकाशनसम्बन्धी कुनै कानुनी वा नैतिक जिम्मेवारी लेखक स्वयंमा निहित रहने जनाएको छ। आवश्यक परेमा नैतिक स्वीकृति (Ethical approval) समेत अनिवार्य हुने बताइएको छ।