
नेपाली कांग्रेसले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको ‘सिस्टम’ मा प्रविष्ट नभएका जिल्ला र क्षेत्रको हकमा उक्त कार्य गर्न एक हप्ताको समय दिएको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले आजदेखि एक हप्ताका लागि नवीकरण र नयाँ क्रियाशील सदस्यता ‘इन्ट्री’ गर्न समय दिने निर्णय गरेको छ ।
बैठकले १५औँ महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता ‘डिजिटल सिस्टम’मा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने निर्णय गरेको छ ।
यसैगरी, जनसम्पर्क समितिको हकमा योभन्दा अगाडिको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेको व्यवस्थाबमोजिम अनलाइन क्रियशील सदस्यता भर्ने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरिएको छ ।
नेपाली नागरिकता भएका व्यक्तिका लागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्नुका साथै अन्यको हकमा कांग्रेसको विधान २०१७ (एघारौँ संशोधनसहित) बमोजिम व्यवस्था गरिएको छ ।
यसैगरी, नवीकरण प्रविष्ट भइसकेका जिल्लामा विविध कारणले क्रियाशील सदस्यता नवीकरण छुट भई सोका लागि केन्द्रमा निवेदन परेकामा विधानमा व्यवस्था भएबमोजिमको शुल्क लिई यही वैशाख १६ गतेदेखि लागू हुनेगरी एक हप्ताका लागि केन्द्रबाटै नवीकरण गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।
विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको हकमा कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि जिल्ला÷क्षेत्र÷केन्द्रीय प्रतिनिधि÷वडा कार्यसमितिले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सक्ने निर्णयसमेत गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण्णप्रसाद दुलालले जानकारी दिए ।