काठमाडौं, वैशाख २१ :

प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले सुकुमबासी बस्तीमा उचित व्यवस्थापनबिना डोजर चलाइएको र संसद् अधिवेशन स्थगित गरी अध्यादेश ल्याइएको विषयमा आपत्ति जनाएका छन्।

सोमबार सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा बोलाएको प्रमुख सचेतक र सचेतकहरूको बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरूले सरकारका यी कदमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

बैठकमा एमाले सचेतक निता घतानी, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले सुकुमबासीहरूको उचित व्यवस्थापन नगरी घर भत्काइएको र आह्वान भइसकेको सङ्घीय संसद् अधिवेशन रोकिएको विषय उठाएका थिए।

बैठकपछि घतानीले सुकुमबासीहरू विस्थापित भई समस्यामा परेको र सरकार अध्यादेशमार्फत शासनतर्फ उन्मुख भएको विषयमा विपक्षी गम्भीर बनेको बताइन्। उनले यस विषयमा विपक्षी दलहरू अब विकल्पबारे समेत सोच्न बाध्य भएको उल्लेख गरिन्।

उक्त प्रश्नको जवाफमा सभामुख अर्यालले मन्त्रिपरिषद्ले छिट्टै सङ्घीय संसद्को अधिवेशन पुनः आह्वान गर्ने जानकारी दिएको बताएका छन्।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन बोलाएका थिए। तर, सरकारको पत्रपछि सो अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।