काठमाडौं, वैशाख ३१ :

कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापाले प्रविधिको विकाससँगै बालबालिकामाथि अनलाइन माध्यमबाट हुने जोखिम र शोषण बढ्दै गएको भन्दै त्यसको न्यूनीकरणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएकी छन्।

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को आयोजनामा आज भएको “इन्टरनेट तथा अनलाइनको माध्यमबाट बालबालिकामाथि हुन सक्ने जोखिम न्यूनीकरणमा स्थानीय सरकारको भूमिका” विषयक कार्यशाला गोष्ठीमा बोल्दै उपमेयर थापाले बालबालिकाको सुरक्षित डिजिटल भविष्यका लागि अभिभावक, विद्यालय र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरिन्।

उनले पछिल्लो समय बालबालिकामा मोबाइल प्रयोगको लत बढ्दै गएको र सामाजिक सञ्जाल तथा इन्टरनेटको गलत प्रयोगले विभिन्न जोखिम निम्त्याइरहेको बताइन्। “प्रविधि अवसरसँगै चुनौती पनि हो। बालबालिकाको अनलाइन गतिविधिप्रति अभिभावक सचेत हुन आवश्यक छ,” उनले भनिन्।

छलफलमा सहभागीहरूले बालबालिकालाई साइबर अपराध, अनलाइन दुर्व्यवहार तथा शोषणबाट जोगाउन स्थानीय तहले नीतिगत र व्यवहारिक पहल गर्नुपर्नेमा जोड दिएका थिए। साथै, अभिभावकहरूले पनि आफ्ना बालबालिकाको दैनिक गतिविधि र मोबाइल प्रयोगमा विशेष ध्यान दिनुपर्ने सुझावसमेत दिइएको थियो।

कार्यक्रममा न्यायिक समितिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सचिवहरू तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।