
काठमाण्डौँ, साउन १८ : मिटरब्याज पीडित भोगेन्द्र ठाकुरको विषयमा आन्दोलनरत पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ ।
गत सोमबार बिहान जनकपुर धनुषाधाम नगरपालिका २ का ठाकुरको हत्या भएपछि मिटरब्याज पीडित संघर्ष समितिले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको थियो ।
हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरीका विषयमा सुनुवाइ गर्ने लगायतको सहमति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवालगायतले हस्ताक्षर गरेका छन् ।