काठमाडौं, जेठ ६ :

सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीलाई सांसदहरुलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चासहित विरोध जनाएपछि सभामुख अर्यालले सभाको मर्यादा कायम गर्नु सवैको कर्तव्य भएको भन्दै आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन श्रम संस्कृति पार्टीका सांसदहरुलाई चेतावनी दिएका हुन् ।

उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम  २० को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न सांसदहरुलाई आग्रह गरे । हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरुले नियमित रूपमा प्रतिनिधिसभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेको भन्दै त्यस्ता काम नगर्न उनले चेतावनी दिएका हुन् ।

बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरुले जनताका प्रश्न सरकारका मन्त्रीहरुलाई सोध्न चाहेको बताए। जनताको मतबाट पदमा पुगेका प्रधानमन्त्री जनताप्रति जवाफदेही हुनैपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री र सरकारका मन्त्रीहरुलाई सांसदका प्रश्नको जवाफ दिनका लागि रुलिङको माग गरे ।

अध्यक्ष साम्पाङले सरकार सदनप्रति उत्तरदायी नभएसम्म विरोध निरन्तर रहने जनाए। सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउदै आएको छ ।